हेटौंडा उपमहानगरको वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको छ। “बालबालिकामा लगानी शुनिश्चित भविष्यको थालनी” भन्ने मुख्य नाराका साथ मंसिर २७ गते विहिबारका दिन यो घोषणा गरिने भएको हो।
वडा अध्यक्ष विष्णु बहादुर दहालले मंगलबारको पत्रकार सम्मेलनमा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिएका छन्।
वडाको घरधुरी तथ्यांक अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार १ सय रहेको छ। यसमध्ये १ हजार १ सय ३४ बालक र ९ सय ६४ बालिका छन्। कुल बालबालिका जनसंख्यामध्ये ५३.८५ प्रतिशत बालक र ४६.१४ प्रतिशत बालिका रहेका छन्।
वडामा ७ वटा विद्यालय, १९ वटा बालसमूह र १ वडा बालसञ्जाल सञ्चालनमा छन्। यी बालसमूहमा ४ सय ७५ जना बालबालिका आबद्ध छन्। अभियानअन्तर्गत बालश्रमिक उद्धार, पारिवारिक मिलन र बाल विवाह रोकथाम जस्ता महत्वपूर्ण कार्यहरू गरिएका छन्।
बालअधिकार समिति, बालसमूह, टोल विकास संस्था, युवा क्लब र आमा समूह लगायतका सामुदायिक संस्थाहरू यस वडामा क्रियाशील छन्। यसअघि पनि यही वडालाई पूर्ण खोप, पूर्ण साक्षर र खुला दिसामुक्त वडा घोषणा गरिसकिएको छ।
हेटौंडा उपमहानगरका अन्य वडाहरू जस्तै वडा नं. ८, ७, ९, ४, १७, २, १०, १५, ११ र १९ पनि बालमैत्री वडा घोषणा भइसकेका छन्।







