हेटौंडा नगरपालिकाको बाल अधिकार समितिले बुधबार बजार क्षेत्रको अनुगमनका क्रममा पाँच जना बालश्रमिकको उद्धार गरेको छ। बालमैत्री घोषणा गरिएका हेटौंडा-४ र हेटौंडा-१० का विभिन्न मोटरसाइकल वर्कसपबाट उनीहरूको उद्धार गरिएको हो।
बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाका अनुसार हेटौंडा-१० को आर एण्ड आर ट्रेडर्स, हेटौंडा-४ का विश्वकर्मा वर्कसप र न्यू आशिका मेकानिकल वर्कसपबाट एक-एक जना तथा न्यू विश्वकर्मा मोटर वर्कसपबाट दुई जना बालकको उद्धार गरिएको छ।
उद्धार गरिएका बालकहरूमध्ये एक जना पर्साका र चार जना भारतीय नागरिक रहेका छन्। उनीहरूको उमेर १३ देखि १५ वर्षको बीचमा रहेको छ। उद्धार गरिएका बालबालिकालाई हाल सिविन बालहेल्पलाइनको बालगृहमा राखिएको छ।
अनुगमन टोलीले बालश्रम प्रयोग गर्ने रोजगारदाताहरूलाई कारबाही गर्ने र जरिवाना तिराउने जनाएको छ। साथै उद्धार गरिएका बालबालिकालाई उनीहरूका परिवारको जिम्मा लगाइने बताइएको छ।
अनुगमनमा वडा सदस्य सुरज बर्तौला, श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख रुद्र नारायण साह, जिल्ला प्रशासन कार्यालयका दीपक पौडेल, प्रहरी कार्यालयकी लालमाया बाईवा, सिबिन बाल हेल्पलाईनका प्रबन्धक झविन्द्र ज्ञवाली, बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाको लगायतको टोली सहभागी थियो।







