होटल एसोसिएसन अफ मकवानपुरले अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ देखि १६ गतेसम्म ११ औं सडक खाना महोत्सव आयोजना गर्ने भएको छ। बिहीबार पत्रकार सम्मेलनमा महोत्सवका संयोजक तथा एसोसिएसनका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठले यसबारे जानकारी दिए।
‘सडकमा जाऔं, सडकमा खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव हेटौंडा-४ स्थित हुप्रचौर खेल मैदानदेखि पूर्वको उत्तर-दक्षिण सडकमा हुनेछ। महोत्सवमा विभिन्न परिकारका खानाका साथै स्थानीय कलाकारको नृत्यसहित मनोरञ्जनात्मक कार्यक्रम पनि हुने श्रेष्ठले बताए।
विगत १० वर्षदेखि आयोजना हुँदै आएको महोत्सवमा यस वर्ष करिब ५० वटा स्टल राखिने छ। प्रति स्टल चार दिनको १० हजार शुल्क तोकिएको छ। आयोजकले महोत्सवमा ६० देखि ७० लाख रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ।
स्थानीय र छिमेकी जिल्लाबाट गरी ३० देखि ४० हजार अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ। महोत्सव आयोजनाका लागि १४ लाख ५० हजार रुपैयाँ लागत लाग्ने जनाइएको छ।
एसोसिएसनका अध्यक्ष दिलिशगोविन्द जोशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थापक अध्यक्ष भागिरथ शर्मा, वडा नम्बर २ का वडाध्यक्ष एवं एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विष्णुगोपाल महर्जन र नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति थियो। कार्यक्रममा एसोसिएसनले पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत सम्मान गरेको थियो।