बकैया गाउँपालिका र ईस्थर बेन्जामिन स्मृति संस्थाको सहकार्यमा बकैया-१२ धोत्रेदामारमा झोलुङ्गे पुल निर्माण कार्य शुरु भएको छ। बिहीबार गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र संस्थाका कार्यक्रम अधिकृत सानु कान्छा घलानको उपस्थितिमा पुलको शिलान्यास गरिएको हो।
४० लाख रुपैयाँको लागतमा निर्माण हुने यो पुल गाउँपालिकाको प्राविधिक सहयोग र संस्थाको आर्थिक सहयोगमा बन्न लागेको हो। यसअघि २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको सोही स्थानको काला भैरव प्राथमिक विद्यालय पनि यही संस्थाको सहयोगमा पुनर्निर्माण गरिएको थियो।
बालबालिका तथा स्थानीयवासीको सहज आवतजावतका लागि पुल निर्माण गर्न लागिएको संस्थाले जनाएको छ। शिलान्यास कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं. ११ का अध्यक्ष गोपाल न्यौपाने, वडा नं. १२ का अध्यक्ष ज्ञानेन्द्र बजगाई, इन्जिनियर प्रमोद रिजाल, वडा सचिव दीपक घिमिरे र विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको उपस्थिति थियो।







