बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले भजन र चुड्का नेपालको मौलिक संस्कृति भएको बताएका छन्। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको वार्षिक साधारणसभा तथा बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्।
देवकोटाले आयातित संस्कृतिको अन्धानुकरणले मौलिक पहिचान धमिलिँदै गएको बताए। विश्वव्यापीकरणको अर्थ आफ्नो मौलिक पहिचानलाई बिर्सनु नभएको उनको भनाइ थियो। उनले भने, “विविधताको सम्मान गर्दै आफ्नो मन, मस्तिष्क र मुटुमा मौलिक पहिचानलाई सजाउनुपर्छ।”
प्रदेश प्रमुखका अनुसार सत्तल, पाटी, पूजापाठ र चाडपर्वमा शंख, मुजुरा र खैँजडीको धुनसहित भजन चुड्का गुञ्जिँदा वातावरण रमणीय हुन्छ। भजन चुड्काले मानिसलाई शान्त, उत्प्रेरित र सकारात्मक बनाउने उनको भनाइ छ।
देवकोटाले भजन चुड्का लगायत मौलिक संस्कृतिको संरक्षणमा राज्यका निकाय, संस्था र नागरिक समाज एकजुट हुनुपर्ने बताए। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा भजन चुड्कालाई अनिवार्य समावेश गर्नुपर्ने उनको सुझाव छ।
कार्यक्रममा भजन चुड्का र वाद्यवादनको प्रस्तुति भएको थियो भने इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेल लगायतलाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद खनाल ‘लेकाली’ले जानकारी दिए।







