हेटौंडामा सोमबार जलवायु कार्यको स्थानीयकरण र सार्वजनिक सम्पदा संरक्षणमा लैंगिक दृष्टिकोणबारे बागमती प्रदेशस्तरीय संवाद कार्यक्रम आयोजना हुने भएको छ । एक्सन एड परियोजनाकी कार्यक्रम संयोजक कविता बस्नेतले आइतबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएकी हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा हुने उक्त कार्यक्रममा संघीय सरकारले निर्माण गरेका जलवायुसम्बन्धी नीति तथा ऐनलाई स्थानीय तहमा कार्यान्वयन गर्दा देखिएका चुनौती र समाधानका विषयमा बृहत छलफल हुने बस्नेतले बताइन् ।
कार्यक्रममा प्रदेशका एक सयभन्दा बढी सहभागी रहने जनाइएको छ । वन क्षेत्रका विज्ञ, मन्त्री, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र युवा नेतृत्वको सहभागिता रहने आयोजकले जनाएका छन् । चितवन सक्रिय महिला प्रतिष्ठान र मकवानपुर महिला समूहको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।







