हेटौंडामा जलवायु कार्यको स्थानीयकरण र सार्वजनिक सम्पदा संरक्षणमा लैंगिक दृष्टिकोणबारे बागमती प्रदेशस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर महिला समूह, चितवन सक्रिय महिला फाउन्डेशन र एक्सन एड नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले मानवीय वातावरण र सम्पदा जोगाउन आवश्यक रहेको बताए । वातावरण बिग्रँदा सबैलाई असर पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकनमा विशेष ध्यान दिनुपर्ने र जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमा बढी पर्ने हुँदा सचेतना बढाउनुपर्नेमा उनले जोड दिए ।
प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बढ्दो जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सहयोगको प्रतिबद्धता जनाइन् । वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले मानव समुदायले सुविधाको नाममा पृथ्वीलाई नष्ट पार्दै लगेको र हिमाल पग्लिँदै जाँदा तटीय बस्तीका समुदाय जोखिममा परेको बताए ।
कार्यक्रममा एक्सन एड परियोजनाकी संयोजक कविता बस्नेतले जलवायु परिवर्तन र यसको प्रभावबारे कार्यपत्र प्रस्तुत गरिन् । सक्रिय महिला समूह चितवनकी कार्यक्रम संयोजक सुजता बर्तौलाले ग्रामीण तथा सीमान्तकृत समुदायका महिलाहरू जलवायु परिवर्तनबाट बढी प्रभावित भएको बताइन् ।
कार्यक्रममा संघीय सरकारका जलवायुसम्बन्धी नीति तथा ऐनको स्थानीयकरणमा देखिएका चुनौती र समाधानबारे छलफल भएको थियो । प्रदेश सभा सदस्य भारती पाठकले तीनै तहका सरकारबीच समन्वयको अभावले समस्या भएको औंल्याइन् । कार्यक्रमस्थलमा वनजन्य उत्पादनहरू जस्तै साबुन, ढक्की र मह लगायतका वस्तुको प्रदर्शनी पनि राखिएको थियो ।







