सिविन नेपाल मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका पाँच वडामा गरिएको बालबालिकासम्बन्धी स्थलगत सर्वेक्षणको तथ्यांक सार्वजनिक गरेको छ। हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा नं १, ३, १०, ११ र १९ मा गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो।
सिविन नेपालका विषय विज्ञ भास्कर खनालका अनुसार ९ हजार ८ सय १ घरधुरीमा गरिएको सर्वेक्षणले हेटौंडामा १३ हजार ४५ बालबालिका रहेको देखाएको छ। जसमध्ये ६ हजार ८ सय ५९ बालक र ६ हजार १ सय ८६ बालिका रहेका छन्। सर्वेक्षणले जातीय संरचनामा मुख्यतः तामाङ, ब्राह्मण र क्षेत्री समुदायको बाहुल्यता रहेको देखाएको छ।
सर्वेक्षणका अनुसार ९३ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छ भने घरधुरीको ९५.३१ प्रतिशतसँग नागरिकता प्रमाणपत्र रहेको छ। औसत मासिक आम्दानी ३५ हजार रुपैयाँ रहेको छ। विद्यालय भर्ना भएका बालबालिकाको संख्या १० हजार ६ सय २ रहेको छ भने ३ सय ६९ जनाले विद्यालय छाडेको पाइएको छ।
चिन्ताजनक रूपमा, सर्वेक्षणले ७३ घरधुरीमा बालश्रम रहेको देखाएको छ, जसमध्ये ६७ प्रतिशत पूर्णकालिक बालश्रमिक रहेका छन्। यीमध्ये २६ प्रतिशत यातायात क्षेत्रमा र ११ प्रतिशत कारखानामा कार्यरत छन्। त्यस्तै ५३ जना बालबालिका बालविवाहको उच्च जोखिममा रहेको पाइएको छ।
कार्यक्रममा बोल्दै मेयर लामाले यो सर्वेक्षणले बालमैत्री स्थानीय शासन अभियानलाई सहयोग पुग्ने र स्थानीय सरकारको लक्ष्य पूरा गर्न मद्दत गर्ने बताइन्। सम्बन्धित वडाका अध्यक्षहरूले पनि यी तथ्यांकको आधारमा कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
तीन महिनासम्म चलेको यो सर्वेक्षण जनप्रतिनिधिहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो। सिविन नेपाल मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीका अनुसार कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो। 







