भक्तपुरको बालकोटस्थित डेरामा बुबा र भाइको हत्यापछि आत्मसमर्पण गरेका युवक मिलन आचार्यले आत्महत्या गर्न गरेको प्रयास सफल नभएपछि आत्मसमर्पण गरेको बयान प्रहरीसमक्ष दिएका छन् । सोमबार बालकोटको डेरामा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण मृत फेला परेका थिए ।
बाहिरबाट ताल्चा लगाइएको दुई फरक कोठामा उनीहरूको शव भेटिएको थियो । घटनापछि फरार रहेका मिलनले मंगलबार आत्मसमर्पण गर्दै हत्या आफैँले गरेकाे स्वीकारेका प्रहरीको भनाइ छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार बुबा र भाइको हत्यापछि कोठाबाट भागेका मिलनले आत्महत्या गर्न खोजेका तर सफल नभएको बयान दिएका हुन् । झुण्डिन खोजेको रुखको हाँगा नै भाँचिएपछि आत्महत्या गर्न नसकेको र त्यसपछि आत्मसमर्पण गर्न आएको मिलनले बयान दिएको प्रहरीको भनाइ छ ।
मिलन लामो समयदेखि लाेकसेवा आयोगको तयारी गरिरहेका थिए । तर सफल हुन सकेका थिएनन् । भाइको आनीबानी पनि बिग्रिँदै गएपछि आफू आजित भएको बयान उनले प्रहरीसमक्ष दिएका छन् । मिलनले डमबेल र लोहोरोले हिर्काएर बाबु र भाइको हत्या गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।







