मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवाल नेतृत्वको प्यानलले पश्चिम क्षेत्रका उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। शुक्रबार मनहरी, रजैया, सानान्टार र बस्तीपुर क्षेत्रका व्यवसायीहरूसँगको भेटघाटमा अग्रवाल प्यानलले यस्तो प्रतिबद्धता जनाएको हो।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार अग्रवालले आफू कार्यसमिति सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्मको यात्रामा सधैं व्यवसायीको साथमा रहेको उल्लेख गर्दै यसपटक अध्यक्षको रूपमा सेवा गर्ने अवसर पाउने विश्वास व्यक्त गरे।
वाणिज्यतर्फका उपाध्यक्ष पदका उम्मेदवार राजु अधिकारीले उद्योगी व्यवसायीका समस्या र चुनौतीलाई राम्रोसँग बुझेको बताउँदै उपाध्यक्षकै रूपमा काम गर्न चाहेको बताए।
भेटघाट कार्यक्रममा उद्योगतर्फका उपाध्यक्ष पदका उम्मेदवार रविन्द्र घिमिरे, वाणिज्यतर्फका सचिव पदका उम्मेदवार दिवस पराजुली, सहकोषाध्यक्ष पदकी उम्मेदवार राधिका सामरी पाण्डेसहित विभिन्न पदका उम्मेदवारहरूको उपस्थिति थियो।
मनहरी क्षेत्रका व्यवसायीहरूले आफ्ना समस्या राख्दै समाधानको आग्रह गरेका थिए। उनीहरूले अघिल्लो निर्वाचनमा पनि अग्रवाललाई मतदान गरेको स्मरण गर्दै यसपटक पनि उनको टिमलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
२ हजार ९७ मतदाता रहेको मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा पुस २४ देखि २७ गतेसम्म हुने कार्यक्रम रहेको छ।







