बकैया गाउँपालिकामा बालश्रम अन्त्य गर्न विद्यालयका शिक्षक तथा शिक्षाकर्मीहरुले प्रतिबद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २८ विद्यालयका ३५ जना शिक्षक तथा प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो।

कार्यक्रम ग्लोबल मार्चको सहयोगमा बकैया गाउँपालिका, स्वतन्त्रता अभियान र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा भएको थियो।
गाउँपालिका अध्यक्ष लामिछानेले विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्दो क्रममा रहेको र यसले बालश्रम, बालविवाह र बालबालिकाको बेचबिखनको जोखिम बढाउने भएकाले यसलाई रोक्न आवश्यक रहेको बताए।
उपाध्यक्ष भक्त बहादुर खत्रीले अभिभावकहरुलाई जिम्मेवार बनाउन टोल विकास मार्फत सचेतना कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले विद्यालयहरुले तयार पारेको कार्ययोजना कार्यान्वयनमा पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।
बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले बालश्रम निवारणमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि पालिकाले बजेट बढाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सहभागी शिक्षकहरुले विद्यालय छाड्ने दर घटाउन, विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन र विद्यालयलाई बालमैत्री बनाउन प्रतिबद्धता जनाएका छन्।







