हेटौंडा – हेटौंडामा १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र्याली र विशेष कार्यक्रमसहित मनाइएको छ। लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियल र अन्य संस्थाहरूको संयुक्त आयोजनामा भएको कार्यक्रममा करिब २०० टोपी निःशुल्क वितरण गरियो।
‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित हुप्रचौरबाट सुरु भएको र्याली बुद्धचोकमा कोणसभामा परिणत भएको थियो। हेटौंडा उपमहानगर कार्यपालिका प्रमुख मीना लामाले टोपीलाई स्वदेशी उत्पादन र प्रयोगको प्रतीकका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा अतिथि हेटौंडा उपमहानगरपालिका-४ का अध्यक्ष नवीन सिग्देलले नेपाली टोपीलाई नेपाली स्वाभिमान र संस्कृतिको प्रतीकका रूपमा हेर्नुपर्ने बताए।
कार्यक्रमका सहभागीहरूले ढाका टोपी र भाद्गाउँले कालो टोपीलाई राष्ट्रिय पहिचानको आधिकारिक प्रतीकका रूपमा मान्यता दिन सरकारसँग माग गरे।
मकवानपुरका पत्रकारलाई टोपी उपहार
लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियलले मकवानपुरका पत्रकारहरूलाई नेपाली टोपी उपहार दिएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीलगायत प्रतिष्ठित सञ्चारकर्मीहरू सहभागी थिए।
अधिकारीले नेपाली टोपीको प्रचारप्रसार र संरक्षणमा यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। सहभागी पत्रकारहरूले टोपी दिवसले राष्ट्रिय पोशाकप्रतिको गौरव बढाउने र सांस्कृतिक एकता बलियो बनाउने विश्वास व्यक्त गरे।