मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मतदानको अधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ । संघका ९ जना साधारण सदस्यले एशोसिएट सदस्यता कायम राख्न जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिएका छन् ।
प्रशासन कार्यालयमै पुगेर टोलीले सहायक जिल्ला प्रमुख अधिकारी ढोलकराज अधिकारीलाई न्याय माग गर्दै निवेदन हस्तान्तरण गरेको हो ।
निवेदकहरूमा मणि खाद्यान्न सेन्टर, बानियाँ ट्रेडर्स, ओम बाबा बैद्यनाथ भण्डार प्रालि लगायतका व्यवसायिक संस्थाका सञ्चालकहरू छन् । उनीहरूले विधानको दफा ८ बमोजिम एशोसिएट सदस्यताका लागि आवश्यक कागजात र दस हजार रुपैयाँ दस्तुर बुझाइसकेको बताएका छन् ।
विवादको मुख्य कारण संघको कार्यसमितिले पुस १६ मा गरेको निर्णय हो । कार्यसमितिले सदस्यता स्वीकृत गरे पनि निर्वाचनमा सहभागी हुन नपाउने गरी एकतर्फी निर्णय गरेको निवेदकहरूको आरोप छ । निवेदक काव्यमणि अधिकारीका अनुसार विधानको दफा ११(७) अनुसार एक वर्ष पूरा भएका सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्था छ । तर आफूहरू विगत वर्षदेखि नै संघको सदस्य रहेको र एशोसिएट सदस्यता मात्र परिवर्तन गर्न खोजेको उनको भनाइ छ ।
निवेदकहरूले सदस्यता शुल्क तिर्दा पुरानै सदस्यता नम्बरबाट रसिद प्राप्त गरेको दाबी गरेका छन् । उनीहरूले पुस २७ को निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग गर्दै सम्बन्धित कागजातहरू सहित जिल्ला प्रशासन कार्यालयमा गुहार लगाएका छन् । सहायक जिल्ला प्रमुख अधिकारीले यस विषयमा जिल्ला प्रमुख अधिकारीसँग समन्वय गरी छलफल गर्ने आश्वासन दिएका छन् ।







