मकवानपुर उद्योग वाणिज्य संघको आगामी माघ २७ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी प्रमोद सिंह रानाभाटले पूर्व अध्यक्षहरूको उपस्थितिमा आफ्नो टिम र प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
आइतबार साँझ गरेको सार्वजनिक रानाभाटको टिममा वाणिज्यतर्फ उपाध्यक्षमा राम प्रसाद न्यौपाने, एशोसिएटतर्फ उज्वल चौलागाईं, उद्योगतर्फ दीपक उप्रेती र वस्तुगततर्फ प्रदीप अर्याल रहेका छन्। त्यस्तै महासचिवमा प्रतिमा श्रेष्ठ र कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य रहेका छन्। एशोसिएटतर्फ सदस्यमा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा समेत रहेका छन्।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै रानाभाटले व्यवसायीको हितविपरीत मेला आयोजना नगर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायीको हित हुने गरी एक्स्पो आयोजना गर्ने, स्थानीय तहसँगको सम्बन्ध सुधार गर्ने, सदस्यता शुल्क घटाउने र हेटौंडामा स्वास्थ्य सेवा सुधार गरी व्यवसायीको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
रानाभाटले प्रदेश सरकारसँग समन्वय गरी प्रदेश विश्वविद्यालय स्थापनामा भूमिका खेल्ने र आपतकालीन कोष स्थापना गरी व्यवसायीलाई सहयोग गर्ने बताए। साथै पर्यटन क्षेत्रको विकास र पेशागत मर्यादा एवं सुरक्षाको प्रत्याभूति दिने दाबी गरे।








