हेटौंडा/आलु रोप्ने मुख्य सिजन सुरु भइसक्दा पनि डीएपी र युरिया लगायतका रासायनिक मलको अभाव भएपछि मकवानपुरको प्रमुख आलु पकेट क्षेत्र थाहा नगरका किसानहरू गम्भीर समस्यामा परेका छन्।
समस्या समाधानका लागि थाहा नगरका किसान प्रतिनिधिहरूले बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठसँग भेटघाट गरी मल उपलब्ध गराइदिन आग्रह गरेका छन्। छलफलमा मन्त्री श्रेष्ठले माघको पहिलो हप्तासम्म डीएपी र युरिया मलको व्यवस्थापन गर्ने आश्वासन दिनुभएको छ।
थाहा नगरपालिकाका करिब ९ हजार कृषक परिवार आलु खेतीमा संलग्न छन्। नगरपालिकाको ७ सय हेक्टर क्षेत्रफलमा हुने आलु खेतीका लागि वार्षिक ७० हजार किलो बीउ प्रयोग हुने गरेको छ। यहाँका किसानले आलु खेतीबाट वार्षिक दुई अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छन्।
मल वितरणको जिम्मा पाएका १७ वटा सहकारी र २ निजी व्यापारीमार्फत वितरण हुने मलको कोटा सकिएपछि किसानहरू समस्यामा परेका हुन्। केही किसानले बाध्य भएर निजी क्षेत्रका व्यापारीबाट महँगो मूल्यमा मल किन्नुपरेको छ।
यस समस्यालाई लिएर नेकपा एमाले थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानको नेतृत्वमा गएको टोलीले मन्त्री श्रेष्ठसँग भेटघाट गरेको थियो। भेटमा मन्त्री श्रेष्ठले कृषि सामग्री संस्थान हेटौंडाका प्रमुख प्रकाश चन्द्र ज्ञवालीलाई बोलाई थाहाको माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ।

थाहा नगरको आलु खेतीका लागि ५ सयदेखि ६ सय टन डीएपी र ३ सय टन युरिया मल आवश्यक पर्ने अनुमान गरिएको छ। यसैबीच, मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले पनि मल आपूर्ति सहज बनाउन प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ।







