मकवानपुरको राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा पछिल्ला वर्षहरूमा चट्याङजन्य प्रकोपको जोखिम बढिरहेको छ । यस क्षेत्रमा चट्याङका कारण वार्षिक रूपमा मानवीय तथा भौतिक क्षति हुँदै आएको छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार हेटौंडामा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा चट्याङ न्यूनीकरणका लागि प्रविधिको प्रयोगमा जोड दिइएको छ । दक्षिण एसियाली चट्याङ सञ्जालका अध्यक्ष डा. श्रीराम शर्माले चट्याङ सम्बन्धी विभिन्न पक्षबारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेशका विभिन्न जिल्लामा चट्याङका कारण धनजनको क्षति बढ्दो क्रममा रहेको छ । उहाँले चट्याङ न्यूनीकरणका लागि सचेतना कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । साथै चट्याङको उच्च जोखिम भएका पालिकामा सचेतना र प्रविधि दुवैको प्रयोगका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
मन्त्रालयका उपसचिव सुरेश खनालका अनुसार पहिलो चरणमा मकवानपुरगढी गाउँपालिकाका सामुदायिक भवन, विद्यालय र स्वास्थ्य संस्थामा अर्थिङ राखिने छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा अर्थिङका लागि २० लाख र सचेतना कार्यक्रमका लागि ५ लाख रुपैयाँ छुट्याएको छ । राक्सिराङ गाउँपालिकामा पूर्वचेतावनी प्रणाली राखिने र त्यसको अनुभवपछि अन्य क्षेत्रमा विस्तार गरिने योजना रहेको छ । पूर्वचेतावनी प्रणालीले १५ देखि ३० मिनेट अघि नै सूचना दिने भएकाले चट्याङबाट बच्न सहज हुने विश्वास गरिएको छ ।







