हेटौंडा उपमहानगरपालिका वडा नं. १० ले आगामी माघ ११ र १२ गते घरेलु उत्पादन प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिइएको हो।
वडाध्यक्ष फूर्वा दोर्जे तामाङका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र स्वरोजगार सिर्जनाको लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीमा नगरका सबै १९ वडाबाट घरेलु तथा हस्तकला, कृषि र ढाका कपडाका सामानहरूको प्रदर्शनी र बिक्री गरिने छ।
कार्यक्रममा १०० वटा निःशुल्क स्टलहरू व्यवसायीहरूलाई उपलब्ध गराइने छ। साथै, स्थानीय संस्कृति र परम्पराको संरक्षणका लागि सांस्कृतिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ। प्रतियोगितामा सबै वडाका इच्छुक कलाकारहरूले भाग लिन सक्नेछन्।
विजेताहरूलाई प्रथम स्थान रु. ५० हजार, द्वितीय स्थान रु. ३५ हजार र तृतीय स्थान रु. २० हजारको पुरस्कार दिइने छ। साथै चार वटा सान्त्वना पुरस्कार प्रति समूह रु. ५ हजारको दिइने छ।
कार्यक्रमको सफल आयोजनाका लागि ५७ सदस्यीय मूल समिति र ६ वटा उपसमितिहरू गठन गरिएको छ। टोल विकास संस्था, नगर समन्वय समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पादेवी उद्यमी महिला केन्द्र, स्थानीय क्लब र राजनीतिक दलहरूको सहकार्यमा कार्यक्रम सञ्चालन हुने वडाध्यक्ष तामाङले जानकारी दिए।







