निर्माण व्यवसायी संघ मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा १४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाललाई ज्ञापनपत्र बुझाएको हो ।
महासंघको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत प्रदेशका मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाइएको व्यवसायीहरूले जनाएका छन् ।
ज्ञापनपत्रमा सबै निर्माण कार्यको भुक्तानी गर्नुपर्ने, सरकारको म्याद थप आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाको एकमुष्ट म्याद थप गर्नुपर्ने र रुग्ण ठेक्काहरू सुविस्ताका आधारमा अन्त्य गर्नुपर्ने माग गरिएको छ । यस्तै अत्यधिक मूल्यवृद्धिलाई सम्बोधन गर्न मूल्य समायोजन गर्नुपर्ने र संविधानसँग बाझिएका कानुनी व्यवस्था संशोधन गर्नुपर्ने माग पनि समावेश छन् ।
व्यवसायीहरूले भौगोलिक आधारमा निर्माण कार्यको तालिका बनाउनुपर्ने, वर्षातमा निर्माण सामग्री उत्खननको व्यवस्था मिलाउनुपर्ने र मापदण्डमा आवश्यक परिमार्जन गर्नुपर्ने माग पनि राखेका छन् । साथै बीमा सम्बन्धी समस्या,पूर्व सहमतिको कार्यान्वयन र निर्माण सम्बन्धी उच्चस्तरीय आयोग गठनको माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।
महासंघले माघ ३ देखि ७ गतेसम्म विभिन्न राजनीतिक दल र सरकारी निकायमा आफ्ना मागबारे जानकारी गराउने जनाएको छ । त्यसपछि माघ १८ मा माइतीघर मण्डलामा र माघ २० मा बालुवाटारमा धर्ना दिने कार्यक्रम घोषणा गरेको छ । माघ २१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाका ठप्प पार्ने र माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माण कार्य रोक्ने चेतावनी दिएको छ ।