मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा कृष्णप्रसाद घिमिरे मनोनित भएका छन् । संघको सोमबार बसेको कार्यसमिति बैठकले घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
मनोनित सदस्यतर्फ महिला कोटाको एकजना बाँकी रहेको छ । संघको सल्लाहकारमा ८ जना मनोनित भएका छन् । जसमा आनन्दराम पराजुली, सरोज खनाल, सन्तोषकुमार अर्याल, नरेन्द्र भण्डारी, नरोत्तम दाहाल, हिरालाल श्रेष्ठ, बालगोपाल कंडेल र ईन्द्र नेपाल रहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दीपक उप्रेती चयन भएका छन् ।
कार्यकालको आधारमा वरिष्ठ उपाध्यक्ष चयन हुने प्रावधान रहेको छ । यस्तै संघको अध्यक्ष सल्लाहकारमा विष्णुहरि पण्डित र महिला सभापतिमा सीतादेवी भेटवाल चयन भएको महासचिव प्रतिमा श्रेष्ठले जानकारी दिए । उपाध्यक्षहरुको वरिष्ठता समेत तोकिएको छ । संघको एशोसियटतर्फको सचिवमा बराबर मत प्राप्त गरेका नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीले आधा आधा कार्यकाल पदमा रहेर काम गर्ने भएका छन् । डेढ वर्ष खतिवडाले बाँकी कार्यकाल कार्कीले सचिवको रुपमा काम गर्ने सहमति भएको छ ।
संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले भने, ‘यस्तै वरिष्ठ उपाध्यक्ष र महिला सभापतिको समेत टुङ्गो लगाएका छौं । अब उद्योगी व्यवसायीको सामु गरिएको वाचा अनुरुप कार्य गर्दै अघि बढ्नेछौं ।’ पुषको २४ देखि २७ गतेसम्म भएको संघको ५४ औं साधारणसभा तथा अधिवेशनले रानाभाटको नेतृत्वमा ३ वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको थियो । रानाभाटले अध्यक्षका अर्का उम्मेदवार अनिल अग्रवाललाई हराएका थिए ।