हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा १९ करोड ७४ लाख राजस्व संकलन गरेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३ करोड १२ लाख बढी हो ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार साउनदेखि पुससम्मको अवधिमा सम्पत्ति करबाट ४ करोड ९४ लाख, घरबहाल करबाट २ करोड ८१ लाख र नक्सापास दस्तुरबाट २ करोड ७६ लाख राजस्व संकलन भएको छ ।
यस्तै पूर्वाधार सेवा उपयोग करबाट २ करोड १८ लाख, सिफारिस दस्तुरबाट १ करोड ६२ लाख, बहाल बिटौरी करबाट १ करोड ३३ लाख र व्यवसाय करबाट १ करोड ८३ लाख राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा उपमहानगरपालिकाले १६ करोड ६२ लाख राजस्व संकलन गरेको थियो ।
प्रमुख सुवेदीका अनुसार बक्यौता असुलीमा कडाइ, करको दर र दायरामा वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिका कारण राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको हो ।