हेटौंडा उपमहानगरपालिका-१ निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ। माघ ११ गते हुने घोषणा कार्यक्रममा वडालाई बालमैत्री वडा घोषणा गरिने वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा वडाअध्यक्ष न्यौपानेले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा शतप्रतिशत र बाँकी ४ वटामा न्यूनतम प्रतिशत हासिल भएको बताए।
वडाको २०७९ को तथ्यांक अनुसार १८ वर्षमुनिका २ हजार १४ बालबालिका छन्। जसमा १ हजार ४५ बालक र ९६९ बालिका रहेका छन्। वडामा ६ वटा विद्यालय, १८ वटा बाल समूह र एक बाल सञ्जाल सक्रिय छन्। बाल समूहहरूमा ३६३ बालबालिका आबद्ध छन्।
यस अभियान अन्तर्गत ८ वटा बाल विवाह रोकिएको र विभिन्न बालश्रमिकको उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको छ। वडामा बालअधिकार समिति, टोल विकास संस्था, युवा क्लब, आमा समूह लगायत विभिन्न सामुदायिक संस्थाहरू क्रियाशील छन्।
यसअघि यस वडालाई पूर्ण खोप, पूर्ण साक्षर र खुला दिसामुक्त वडा घोषणा गरिसकिएको छ। हेटौंडा उपमहानगरपालिकाले २०७९ भदौ २४ गते सम्पूर्ण वडा र पालिकालाई बालमैत्री बनाउने निर्णय गरेको थियो। हालसम्म हेटौंडाका वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १६,१७ र १९ बालमैत्री वडा घोषणा भइसकेका छन्।