हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ। शुक्रबार नकौली आधारभूत स्वास्थ्य केन्द्र बाँझोडाँडाको परिसरमा आयोजित एक कार्यक्रममा यो घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि मेयर मीनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेकी छिन्।
मेयर लामाले बालमैत्री घोषणालाई दीर्घकालीन रूपमा सार्थक बनाउन अनुरोध गरेकी छिन्। नेपाल सरकारको लक्ष्यअनुसार २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री बनाउने अभियम जारी छ।
वडा अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।
वडा अध्यक्ष न्यौपानेका अनुसार, बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा सत्प्रतिशत र बाँकी ४ वटा सूचकमा ८२ देखि ९६ प्रतिशतसम्म नतिजा हासिल गरिएको छ। यो वडामा कुल ६,७९० जनसंख्या रहेको छ, जसमध्ये २,०१४ जना १८ वर्षमुनिका बालबालिका छन्।
हाल हेटौंडा उपमहानगरपालिकाका अधिकांश वडाहरू बालमैत्री घोषणा भइसकेका छन्। ३, १४ र १५ नम्बर वडा मात्र बालमैत्री घोषणा हुन बाँकी रहेका छन्।








