सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत प्रदेश कार्यक्रम समन्वय समितिको चौथो बैठक सोमबार हेटौंडामा सम्पन्न भएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षतामा सम्पन्न बैठकले सात बुँदे निर्णय गरेको छ।
बैठकले प्रदेशका १ सय स्थानीय तहमा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको छ। सुरक्षित आप्रवासन कार्यक्रमलाई थप प्रभावकारी बनाउन श्रम, रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य मन्त्रालय/स्वास्थ्य निर्देशनालयबाट आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट सुनिश्चित गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सेवा प्रभावकारी बनाउन सम्बन्धित कार्यालय, विभाग, र मन्त्रालयबीच समन्वय बैठक सञ्चालन गर्ने, प्रदेशस्तरमा सामी कार्यक्रमको प्रगति समीक्षा र कार्ययोजना तयार गर्ने, साथै श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतका शाखा र प्रदेश रोजगार सूचना केन्द्रलाई सबल बनाउने निर्णयसमेत बैठकले गरेको छ।
मन्त्री महर्जनको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रालयका सचिव बिरेन्द्रदेव भारती सह-अध्यक्ष रहेका थिए। मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, स्वीजरल्याण्ड दूतावासका वरिष्ठ आप्रवासन विज्ञ राजकुमार ढुंगाना, आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेल, स्वास्थ्य मन्त्रालयका जनक दाहाल, र सामी फोकल पर्सन तिर्थराज उपाध्यायलगायतको उपस्थिति रहेको थियो।







