नेपाल बुद्धिचाल महासंघद्वारा आयोजित २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आइतवार हेटौंडामा सुरु भएको हो। राजनले पहिलो चरणको खेलमा ललितपुरका ट्याक्टिस मास्टर सरोज महर्जनलाई उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरे।

यो प्रतियोगितामा नेसनल च्याम्पियनसिपका शीर्ष ३ र बीका ९ गरी १२ जना खेलाडी ११ चरणको प्रतिस्पर्धाबाट राष्ट्रिय विजेता घोषणा गरिनेछ।
पुरुषतर्फको खेलमा, सिएम शुश्रुत दहाल पूर्व नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग पराजित भए। एफएम क्षितिज भण्डारीले पुरुषोत्तम सिलवाललाई लामो रणनीतिक खेलमा हराए। काठमाडौंका प्रेमकृष्ण महर्जनले सुनसरीका धिरेन राईलाई कडा प्रतिस्पर्धामा पराजित गरे। सिएम नवीन तण्डुकारले भक्तपुरका विनय थापालाई पराजित गरे भने दोलखाका आशिष फुयालले एफएम रिजेन्द्र राजभण्डारीलाई हराए।
पहिलो चरणको खेलपछि राजन, रुपेश, क्षितिज, प्रेमकृष्ण, नवीन र आशिषले समान १ अंक हासिल गरेका छन्।
महिलातर्फ, इशा गिरिले पुनम प्रसाईंलाई पराजित गरिन् भने एञ्जल महर्जनले शान्ति धिमाललाई हराइन्। नेपाल च्याम्पियन सिन्दिरा जोशीले निहाना श्रेष्ठलाई, झापाका कृतिसारा अधिकारीले नयुमा मगरलाई पराजित गरिन्। ताप्लेजुङकी सुशीला गुरुङले चितवनकी लक्ष्मी कँडेललाई तथा बिनिता कपालीले दानिशा पुरीलाई हराइन्।
महिलातर्फ पनि इशा, एञ्जल, सिन्दिरा, कृतिसारा, सुशीला र बिनिताले समान १ अंक जोडे।
महासंघका महासचिव तथा प्रतियोगिता संयोजक धरम बहादुर लामाका अनुसार दोस्रो दिन थप दुई चरणका खेल हुनेछ।







