निर्माण व्यवसायी संघ तथा नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०८१ आगामी फागुन महिनामा आयोजना हुने भएको छ।
२०७१ सालमा पहिलोपटक महोत्सव आयोजना गरेको संघले यसपटक फागुन ६ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी पत्रकार सम्मेलनमार्फत दिएको हो।
संघका अध्यक्ष बालगोपाल कँडेलका अनुसार महोत्सवले निर्माण सामग्री उद्योगी, बिक्रेता र प्रयोगकर्ताबीच समन्वय गराउनुका साथै उत्पादित वस्तुको बजार प्रवर्द्धन, गुणस्तरीय प्रतिस्पर्धाको विकास, र निर्माण व्यवसायसँग सम्बन्धित समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने उद्देश्य राखेको छ।
अध्यक्ष कँडेलले महोत्सवमा निर्माण क्षेत्रमा प्रयोग हुने अत्याधुनिक उपकरण र निर्माण सामग्रीको प्रदर्शनी, बिक्री र प्रदर्शनमा विशेष जोड दिइने बताए। महोत्सवमा निर्माण उपकरण, सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, र हस्तकलालगायतका सामग्रीका ३५० वटा स्टल रहनेछन्।
स्थानीय स्टललाई ५० प्रतिशतसम्म शुल्क छुट दिने संघले जनाएको छ। साथै, महोत्सवमा गायन, मनोरञ्जनात्मक कार्यक्रम, र जिल्लाबाहिरका १०० भन्दा बढी स्टलको सहभागिता रहने अनुमान गरिएको छ।
करीब १ करोड ३ लाख रुपैयाँको लागतमा सम्पन्न हुने महोत्सवले १ करोड १७ लाख रुपैयाँ आम्दानी गर्ने संघको अनुमान छ।
महोत्सवलाई सफल बनाउन अध्यक्ष कँडेलको संयोजकत्वमा २११ सदस्यीय मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएको छ। संघका अनुसार महोत्सवले निर्माण व्यवसाय र आर्थिक गतिविधिमा थप योगदान पुर्याउने लक्ष्य राखिएको छ।