मकवानपुर जिल्लामा २२ हजारभन्दा बढी छात्राहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) लगाइने भएको छ।
जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरूको लागि मंगलबार आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्लाका १० पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत २२ हजार ७१३ छात्रालाई खोप लगाउने योजना सार्वजनिक गरिएको हो। देशव्यापी रूपमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने यो अभियान मकवानपुरमा भने माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारका अनुसार खोप अभियानको शुभारम्भ मकवानपुर गढी गाउँपालिकास्थित चण्डिका माविबाट गरिनेछ। यस अभियानले कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षका छात्राहरूलाई लक्षित गरेको छ।
कुल ३५० खोप केन्द्र सञ्चालन गरिने यो अभियानअन्तर्गत विद्यालय लक्षित २४० र अन्य ११० खोप केन्द्र रहनेछन्। अभियानका लागि ३६७ खोप सेसन सञ्चालन हुने र ३६७ जना तालिमप्राप्त स्वास्थ्यकर्मी तथा ७३४ जना स्वयंसेवक परिचालन गरिनेछ।
प्रत्येक खोप केन्द्रमा १ जना स्वास्थ्यकर्मी र २ जना स्वयंसेवक खटाइनेछ। खोप कार्यक्रमबाट ९० प्रतिशत किशोरीलाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ। लक्षित समूहका छात्राहरूलाई अनिवार्य रूपमा खोप कार्यक्रममा सहभागी गराउन अभिभावक र विद्यालयलाई आग्रह गरिएको छ।