प्रेस चौतारी नेपाल मकवानपुरले आफ्नो २७ औं स्थापना दिवस मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ।
प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दहालको सभाध्यक्षमा तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सञ्चारकर्मीहरूबीच शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको हो।
कार्यक्रममा प्रमुख अतिथि रानाले समाजलाई समृद्धितर्फ अघि बढाउन प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको बताए। उनले बदलिंदो सामाजिक परिवेशसँगै पत्रकारिताले समाजलाई सही दिशामा मार्गनिर्देशन गर्ने अपेक्षा राखेका छन्।
नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एकालाल श्रेष्ठले सञ्चारकर्मीहरूले समाजका विपन्न तथा पिछडिएको वर्गलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले पत्रकारिता मर्यादित तथा व्यावसायिक हुनुपर्नेमा जोड दिँदै पत्रकारहरूको स्वतन्त्रता आवश्यक रहेको धारणा राखे।
स्वतन्त्र पत्रकार महासंघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठले पत्रकारिता क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै जानु चिन्ताजनक भएको बताए। संस्थागत विकास नहुँदा पत्रकारहरूको अवस्था नबदलिने र उनीहरूमाथि अविश्वास बढ्ने उनको भनाइ थियो।
प्रेस सेन्टर बागमती प्रदेश महासचिव तथा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले सञ्चार संगठनहरू विभाजित हुँदा पत्रकारहरूको हितमा असर पर्ने बताए। उनले श्रमजीवी पत्रकारहरूको मुद्दामा साझा धारणा बनाउनुपर्ने आवश्यकता औंल्याए।
प्रेस चौतारी मकवानपुरकी अध्यक्ष दहालले नवगठित कार्यसमितिले संगठनलाई थप मजबुत बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, नेकपा एमाले मकवानपुर प्रचार विभाग प्रमुख उज्ज्वल चौलागाईं, स्वतन्त्र पत्रकार नेपाल मकवानपुरका अध्यक्ष गोकुल अधिकारी, नेकपा एमाले मकवानपुरकी सहसचिव आरती पाठकलगायतको उपस्थिति रहेको थियो।