बागमती प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु गरिएको छ।
प्रदेश राजधानी हेटौंडास्थित ज्ञानदा माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बहादुर सिं लामाले स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गर्दै अभियानको औपचारिक शुभारम्भ गरे।
कार्यक्रममा मुख्यमन्त्री लामाले महिलाहरू अझै पनि स्वास्थ्य समस्या लुकाउने प्रवृत्ति रहेको बताउँदै विशेष गरी दुर्गम भेगका महिलाहरू समाजबाट अपहेलित हुने डरले उपचार गराउन नजाने प्रवृत्ति हटाउन आवश्यक रहेको उल्लेख गरे। उनले स्वास्थ्यलाई लाजको विषय नबनाई सचेत हुन आग्रह गरे।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, जिल्ला समन्वय समिति प्रमुख, हेटौंडा उपमहानगरपालिका प्रमुखलगायतको उपस्थिति थियो।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका २ लाख ९८ हजार ३ सय ५ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।
यस अभियान अन्तर्गत विद्यालयभित्र अध्ययनरत २ लाख ७५ हजार ७१ किशोरी तथा विद्यालयबाहिर रहेका २३ हजार २ सय ३४ किशोरीलाई खोप लगाइनेछ।
फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियानका लागि प्रदेशभर ४ हजार ५ सय ७९ खोप केन्द्र तोकिएको छ भने ४ हजार ३ सय २४ स्वास्थ्यकर्मी तथा ८ हजार ७ सय ३६ स्वयंसेवक परिचालन गरिने निर्देशनालयले जनाएको छ।







