बागमती प्रदेशसभाको बुधबार बसेको बैठकमा पाँच वटा विधेयक पेस गरिएको छ। तीमध्ये चार विधेयक संशोधनका लागि दर्ता भएका हुन् भने एक विधेयक प्रदेश प्रमुखबाट फिर्ता भई पुनः पेस गरिएको हो।
बैठकमा स्वास्थ्य मन्त्री किरण थापाको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ संशोधन विधेयक प्रस्तुत गर्नुभयो। त्यस्तै, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक टेबल गर्नुभयो।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ तथा प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक पेस गर्नुभयो।
यसैगरी, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फिर्ता गरेको प्रदेश कृषि विकास विधेयक पुनः विचारका लागि संसद्मा प्रस्तुत गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुखले औंल्याएका कमजोरी र सुझाव समेटिएको प्रतिवेदनसहित विधेयक पेस गर्नुभएको हो।
बुधबार नै बसेको दोस्रो बैठकले ती विधेयकमाथि छलफल गर्नुपर्ने प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। प्रदेशसभाले यी विधेयकहरू यही अधिवेशनमा पारित गर्ने तयारी गरिरहेको छ। प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।







