हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१४ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। यससँगै हेटौंडा उपमहानगरपालिका पूर्ण रूपमा बालमैत्री उपमहानगरपालिका बनेको छ।
शुक्रबार श्री भृकुटी मावि प्रांगणमा आयोजित कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गरिन्।

बालमैत्री घोषणा कार्यक्रममा वडा अध्यक्ष दीपक खड्काले प्रतिवेदन प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूमध्ये ४७ वटा सूचकमा १०० प्रतिशत उपलब्धि हासिल गरिएको र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत पूरा गरिएको जानकारी दिए।
हेटौंडा उपमहानगरपालिकाका १९ मध्ये यसअघि १८ वटा वडा बालमैत्री घोषित भइसकेका थिए। १४ नम्बर वडासमेत बालमैत्री घोषित भएसँगै आगामी फागुन १ गते हेटौंडा उपमहानगरपालिकालाई पूर्ण रूपमा बालमैत्री नगरका रूपमा घोषणा गर्ने तयारी भइरहेको मेयर लामाले बताइन्।

नेपाल सरकारले सन् २०८७ भित्र सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ।







