हेटौंडामा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवस समारोहमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले साना र ठूला सबै प्रकारका भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्ने बताउनु भएको छ ।
उहाँले पछिल्लो समयमा साना भ्रष्टाचारका मामिलामा मात्र संख्यात्मक विवरण प्रस्तुत हुँदै ठूला र संस्थागत भ्रष्टाचारका मुद्दामा हिचकिचाहट देखिँदै आएको आरोपलाई गलत सावित गर्न साना र ठूला दुवै किसिमका भ्रष्टाचारकारीहरू विरुद्ध कडा कारबाही गर्नुपर्ने जोड दिनुभयो।
उहाँले सम्बोधन गर्दै भन्नुभयो,
“अख्तियारलाई दुरूपयोग गरेर देश, जनता र सुशासनविरुद्ध नैतिकता र कानुन बिपरित काम गर्ने जो कोही विरुद्ध सुक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही हुनुपर्छ।”
उहाँका अनुसार, भ्रष्टाचार विरुद्ध अख्तियारले गरेका कदमहरूले देशमा सुशासन कायम राख्न महत्वपूर्ण भूमिका खेलेका छन् र बेईमानीका विरुद्ध ठोस कारबाही गर्न खुट्टा नकमाउनु अत्यावश्यक छ।
देवकोटाले जनताको निराशा चिर्दै भ्रष्टाचार विरुद्ध ठोस कदम चालेर जनताको विश्वास जित्न सकिने बताएका छन्। उहाँले राष्ट्रमा भ्रष्टाचार रोक्नका लागि इमान्दारिता, पारदर्शिता र सुशासनका मूल्यहरू विद्यालय तथा कलेजका पाठ्यक्रममा बृहत रुपमा समावेश गर्नुपर्ने आवश्यकतालाई जोड दिए।
सोही अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशका विभिन्न जिल्लामा बढ्दो भ्रष्टाचारजन्य अपराधलाई अनुसन्धानको घेरामा राखेर न्यूनीकरण गर्न सरकारी पहल अगाडि बढाइरहेको बताउनु भएको छ।

उहाँले प्रदेशमा सुशासन कायम गर्न मानव अधिकार प्रत्याभूति र जनतामा सरकारप्रति विश्वास जगाउन विभिन्न ऐन–कानून निर्माण तथा चालु आर्थिक वर्षको बजेटमा गरिबी न्यूनीकरण तथा जनताको आर्थिक स्तर उकास्न विभिन्न प्याकेज कार्यक्रम ल्याइएको जानकारी पनि दिनुभयो।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थले जिम्मेवारी पदमा रहेका अधिकारी तथा मन्त्रालयका प्रतिनिधिहरूले भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहन नगरी कानूनी दायराभित्र रहेर अनुसन्धान अघि बढाउनुपर्ने बताइन्। पन्थका अनुसार, संवैधानिक दायराभित्र रहेर जनताको हितका लागि व्यवस्थित रुपमा काम गरेमा भ्रष्टाचारको स्तर निकै घट्नसक्नेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बागमती प्रमुख उमाकान्त आचार्यले पछिल्लो समयमा तीब्र भएको भ्रष्टाचारका बारेमा जनगुनासो आइरहेको भन्दै, कार्यालयले आफ्नो जिम्मेवारीबोधका साथ आवश्यक अनुसन्धान गरिरहेको र स्थानीय निकाय, स्वास्थ्य तथा शिक्षाका क्षेत्रहरूमा सार्वजनिक खरिदसँग सम्बन्धित भ्रष्टाचार न्यूनीकरणका लागि सहयोगको अपिल गरे।

सो अवसरमा आयोगका उत्कृष्ट चार जना कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार प्राप्त कर्मचारीमा शाखा अधिकृत इन्द्रप्रसाद भट्टराई, नायव सुब्बा यमुना बस्नेत, प्रहरी निरीक्षक स्वागत पोखरेल र सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्की रहेका छन्।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमु मीनाकुमारी लामा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका उच्च अधिकृत तथा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थित थियो।







