हेटौंडा/नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) मकवानपुर जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन फागुन २ गते हुने भएको छ।
मकवानपुर क्यूपेकका अध्यक्ष प्रह्लाद राईले बुधबार पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारीबारे जानकारी गराएका हुन्। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सशक्त घटकका रूपमा रहेको क्यूपेक नेपालले अनौपचारिक निर्माण तथा वातावरण क्षेत्रमा कार्यरत श्रमिकहरूको हक, हित र अधिकार संरक्षण गर्दै राज्यसँग नीति निर्माणमा पहल गरिरहेको छ।
शुक्रबार पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा उद्घाटन
जिल्ला अधिवेशनको उद्घाटन समारोह पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा हुनेछ। कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री प्रेमभक्त महर्जन प्रमुख अतिथि तथा क्यूपेक नेपालका केन्द्रीय अध्यक्ष विशेष अतिथि रहनेछन्।
नयाँ कार्यसमिति चयन हुँदै
अधिवेशनले आगामी तीन वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ। मकवानपुर क्यूपेकमा १७५ जना प्रतिनिधि तथा ३,५०० साधारण सदस्यहरू आवद्ध छन् भने देशभर क्यूपेक नेपालका १,८७,७१७ जना सदस्य रहेका छन्। मकवानपुरमा क्यूपेक नेपालको संगठन २०६० सालमा स्थापना भएको थियो।







