हेटौंडा/ इन्टरनेटको अत्यधिक प्रयोगका कारण बालबालिका यौन दुर्व्यवहारको शिकार बन्ने घटना बढ्दै गएको भन्दै सरोकार निकायहरू चिन्तित बनेका छन्। यसै सन्दर्भमा सिविन नेपाल मकवानपुरले ‘अनलाइनमा बालबालिकाको संरक्षण’ विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
बुधबार हेटौंडामा सम्पन्न कार्यक्रममा इन्टरनेट प्रयोगका कारण बालबालिकामा बढ्दो असुरक्षा, त्यसले पार्ने मनोवैज्ञानिक असर, परिवारमा देखिने चुनौती लगायतका विषयमा छलफल गरिएको थियो।
अनलाइन दुव्र्यवहारको जोखिम उच्च
कार्यक्रममा सहभागीहरूले इन्टरनेटको दुरुपयोगसँगै बालबालिकाहरू उच्च जोखिममा पर्दै गएकाे बताउँदै यसले बालअपराध तथा यौन शोषणको खतरा बढाएको औंल्याए। उनीहरूले सचेतनामूलक कार्यक्रमलाई तीव्र र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए।
अनलाइन सुरक्षासम्बन्धी सचेतना अभावकै कारण बालबालिका साइबर अपराधका शिकार बन्ने गरेको भन्दै बालबालिकाको अनलाइन गतिविधि निगरानी गर्ने, सामाजिक सञ्जाल प्रयोग गर्दा हुनसक्ने जोखिमबारे जानकारी गराउने तथा सुरक्षित इन्टरनेट चलाउने विषयमा अभिभावक र बालबालिकालाई प्रशिक्षित गर्ने सुझाव दिइएको छ।
बाल यौन शोषण रोकथाममा सामूहिक प्रतिबद्धता आवश्यक
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सिविन नेपाल बाल हेल्पलाइनका फोकल पर्सन माधव लोहनीले अनलाइन बाल यौन शोषणबाट प्रभावित बालबालिकाको पुनर्वास तथा सुरक्षाका लागि गुणस्तरीय सेवाहरू आवश्यक रहेको बताए।
नेपाल प्रहरीको साइबर ब्युरोमा दर्ता भएका घटनाहरूमा निरन्तर वृद्धि भइरहेको उल्लेख गर्दै नेपाल प्रहरीको साईवर व्युरोमा दर्ता भएका घटनाका आधारमा पनि यस विषयमा समयमै सचेत हुन आवश्यक छ । व्युरोमा २०७५/७६ मा साईवर अपराध सम्बन्धी ३५७, २०७६/७७ मा २ हजार ३०१, २०७७/७८ मा ३ हजार ९०६, २०७८/७९ मा ४ हजार ६८६, २०७९/८० मा ९ हजार १३, २०८०/८१ मा १९ हजार ७३० र २०८१/८२ को हालसम्म ९ हजार ९३२ घटना दर्ता भएको जानकारी दिए।
लोहनीका अनुसार, यी तथ्यांकले अनलाइन यौन शोषणको समस्या गम्भीर रूपमा बढिरहेको देखाएको छ, जसलाई रोक्न समाजका सबै पक्षको जिम्मेवारी आवश्यक छ।
अनलाइन बाल शोषण बढी संवेदनशील र जटिल विषय
सिविन बाल हेल्पलाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बालविवाह र बालश्रमभन्दा पनि अनलाइन बाल शोषण बढी संवेदनशील र जटिल बन्दै गएको बताए। उनले बालबालिकालाई सुरक्षित राख्नका लागि सरकार, शिक्षा क्षेत्र, नियामक निकाय तथा सम्बन्धित संघसंस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रममा स्थानीय तहका शिक्षा शाखा प्रमुख, विद्यालयका शिक्षक, विद्यालय नर्सहरू, सामुदायिक प्रहरी, पत्रकार, इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायहरू सहभागी थिए।
कार्यक्रमका सहभागीहरूले अनलाइन सुरक्षासम्बन्धी जनचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै बालबालिकालाई सुरक्षित इन्टरनेट चलाउन सिकाउनुपर्नेमा जोड दिएका थिए।







