हेटौंडा/आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको छ। यस अभियानपछि आयकर दाखिला नगर्ने (नन फायलर) करदाता क्रमशः घट्दै गएका छन् भने बक्यौता सङ्कलन दर वृद्धि भएको छ।
कर प्रशासनलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम, एसएमएस, पत्राचार तथा सङ्घ संस्थासँग नियमित अन्तर्क्रिया गरिएको छ। कार्यालयका अनुसार व्यवसायिक करदाता प्रमाणपत्र (प्यान) लिएका करिब ६५ प्रतिशत करदाताले लामो समयदेखि आय विवरण नबुझाएपछि त्यस्ता करदाताको अभिलेख तयार पारेर आवश्यक कदम चालिएको छ।
प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीका अनुसार विशेष गरी उपभोक्ता समिति, धार्मिक संस्था र क्लबहरू वार्षिक आय विवरण नबुझाउने प्रमुख करदाता समूहमा परेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को असारसम्ममा नन फायलरको सङ्ख्या ३२ प्रतिशतमा झार्ने लक्ष्य राखिएकोमा हालसम्म ५९ प्रतिशतमा झार्न सफल भएको उनले बताए।
बक्यौता सङ्कलनमा सुधार
अभियान सञ्चालन गर्नुअघि करिब रु ६५ करोड बराबरको बक्यौता सङ्कलन गर्न बाँकी रहेकोमा हाल रु ४५ करोडमा झरेको छ। करदातालाई समयमै जानकारी गराउन २३९ अन्तःशुल्क करदातालाई एसएमएस पठाइएको छ भने आयकर विवरण पेस नगर्ने १०,२०३ करदातालाई समेत एसएमएस पठाइएको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न बाँकी करदातालाई पनि नियमित रूपमा पत्राचार तथा फोनमार्फत जानकारी दिइएको छ। मकवानपुरका १० वटै स्थानीय तहलाई करदाताहरूको विवरण पठाएर सहयोगको लागि अनुरोध गरिएको प्रमुख सुवेदीले बताए।
कर असुलीमा कडाइ
लामो समयदेखि कर नबुझाउने करदाताको बैंक खाता र सम्पत्ति रोक्का गर्ने प्रक्रिया अघि बढाइएको छ। “फागुन महिनासम्म छुट सुविधा उपलब्ध गराइएको छ। त्यसपछि पनि कर नबुझाउने करदातामाथि कानुनी कारबाही अघि बढाइनेछ,” सुवेदीले भने।
राजस्व सङ्कलन लक्ष्यतर्फ
चालु आव २०८१/८२ को सात महिनामा आन्तरिक राजस्व कार्यालय हेटौंडाले रु ३ अर्ब ७० करोड ९१ लाख राजस्व सङ्कलन गरिसकेको छ, जुन वार्षिक लक्ष्यको ८१.४४ प्रतिशत हो।
कर सङ्कलन विवरण यही साउनदेखि माघ महिनासम्मको अवधिमा अन्तशुल्कतर्फ रू दुई अर्ब १२ कारेड १६ लाख २९ हजार, आयकरतर्फ रू ६५ करोड ५८ लाख ८१ हजार, मूल्यअभिवृद्धि करतर्फ रू ५० करोड ४७ लाख ९३ हजार, स्वास्थ्य जोखिम करतर्फ रू ३५ करोड ६७ लाख ३१ हजार, ब्याजकरतर्फ रू पाँच करोड ९१ लाख तीन हजार र बहालकरतर्फ रू एक करोड १० लाख छ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए ।
बहाल कर: रु १ करोड १० लाख
प्रमुख सुवेदीका अनुसार चालु आर्थिक वर्षमा रु ८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ। आर्थिक कारोबारमा वृद्धि, बैंकिङ प्रणाली सहज हुनु, कर नीतिमा सुधार तथा बक्यौता असुलीमा कडाइ जस्ता कारणले राजस्व सङ्कलन सुधारिएको उनको भनाइ छ।







