मकवानपुरको हेटौँडा भएर बग्ने राप्ती खोलाको पानी बारा तथा पर्सामा आपूर्ति गर्न संघीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागले सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसका लागि विभागले परामर्शदाताहरूबाट आशय पत्र (टेण्डर) आह्वान गरेको छ।
खानेपानी मन्त्री प्रदीप यादवको परिकल्पना र पहलअनुसार विभागले सम्भाव्यता अध्ययन गर्न सूचना प्रकाशित गर्दै परामर्शदाताहरूलाई टेण्डर आह्वान गरेको जनाएको छ।
जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतमा गम्भीर असर परिरहेको तथा विशेष गरी तराई क्षेत्रमा भू-जलको सतह घट्दै गएको अवस्थामा मधेस प्रदेशका पर्सा र बारा जिल्लामा दीर्घकालीन समाधान खोज्न यो अध्ययन गर्न लागिएको विभागले जनाएको छ।
मन्त्री यादवले राप्ती नदीबाट पानी स्थानान्तरण अध्ययनले स्थानीय जलस्रोत अभावको दीर्घकालीन समाधान गर्न, जलस्रोतको दीगो उपयोग गर्न तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उक्त अध्ययनका प्रमुख उद्देश्यहरूमा पानी अभावको मूल्याङ्कन, बारा र पर्सा जिल्लामा हालको पानी अभावको अवस्थाको अध्ययन गर्ने र पानीको मागको विश्लेषणअन्तर्गत आगामी २५ वर्षको लागि आवश्यक खानेपानीको प्रक्षेपण गरी दीगो सामाधानको लागि सम्भावित जलस्रोतहरूको पहिचान गरी राप्ती नदी तथा अन्य वैकल्पिक जलस्रोतहरूका गुणस्तर, उपलब्धता, तथा स्थायित्वको मूल्याङ्कन, वातावरणीय र सामाजिक प्रभाव अध्ययन-जलस्थानान्तरण तथा वितरण संरचनाहरूले वातावरण र समुदायमा पार्ने प्रभावको प्रारम्भिक मूल्याङ्कन तथा लगानी र लागत लाभ विश्लेषण, परियोजनाको लागत तथा संभावित लाभहरूको अध्ययन गरिने जनाइएको छ।
परियोजनाको कार्यको क्षेत्र र अध्ययन प्रक्रियाअन्तर्गत अध्ययनको सेवा क्षेत्र अन्तर्गत बारा र पर्सा का भूभागहरू सामेल रहेका छन् भने हाइड्रोलोजिकल, जियोलोजिकल तथा सामाजिक सर्वेक्षणहरू गरी जलस्रोतको उपयोग तथा जलस्थानान्तरण प्रणालीको प्रभावकारिता निर्धारण तथा पानी वितरण प्रणाली, टनेल वा पाइपलाइन संरचनाहरूको सम्भाव्यता अध्ययन गरिनेछ । अन्नपूर्णबाट साभार







