हेटौंडा/नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित झण्डै दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा फर्किएका छन्।
एमाले मकवानपुरको पूर्ण बैठकका अवसरमा आज हेटौंडास्थित पार्टी कार्यालयमा उनीहरू एमाले प्रवेश गरेका हुन्। उनीहरूलाई एमाले वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले स्थायी कमिटी सदस्य तथा बागमती इञ्चार्ज डा. राजन भट्टराई, केन्द्रीय सदस्य एवं मकवानपुर इञ्चार्ज रामेश्वर रानालगायतका नेताहरूले स्वागत गरे।

एमालेमा प्रवेश गर्नेहरूमा समाजवादी मकवानपुरका जिल्ला कमिटी सदस्य मानबहादुर बल, पूर्व जिल्ला कमिटी सदस्य कर्णबहादुर पाख्रिन, देवलाल गोले, सुनिलकुमार गोले, लोकबहादुर घिसिङलगायत रहेका छन्। त्यस्तै, समाजवादी भीमफेदी गाउँपालिका कमिटीका सचिवालय सदस्य रवि खड्का, पालिका कमिटी सदस्य वीरबहादुर बल, शेरमान थापा, हेटौंडा–१ उपसचिव भुपाल थिङसहित करिब दुई दर्जन नेता एमालेमा फर्किएका हुन्।
एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाका अनुसार पार्टी प्रवेश कार्यक्रम पार्टीको तीन महिने वडा केन्द्रित ‘जरा अभियान’ अन्तर्गत सञ्चालन गरिएको हो। उनले जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडा कमिटीमा बैठक सम्पन्न भइसकेको र अभियानलाई थप व्यापक बनाइने बताए।
पार्टी प्रवेश गर्दै शिवहरि बर्तौलाले समाजवादी पार्टीबाट देशको समृद्धि सम्भव नदेखिएको निष्कर्षसहित आफू एमालेमा फर्किएको बताए। उनले एमालेको ‘मिसन ८४’ सफल बनाउन कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए।
आजबाट सुरु भएको दुईदिने जिल्ला कमिटी बैठकमा सबै स्थानीय तह कमिटीको रिपोर्टिङ गरिने र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ। बैठक नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा बसेको हो, जसमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती इञ्चार्ज डा. राजन भट्टराईले निर्देशनात्मक मन्तव्य दिनेछन्।








