मकवानपुरको हेटौंडामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
हिजो(बुधबार)१४ गते साँझ ६:३० बजे हेटौंडा उपमहानगरपालिका-६, सल्लाघारीस्थित बिजय पथमा रामनगरतर्फ हिँडिरहेका ६१ वर्षीय कमल बहादुर बोहोरालाई हात्तिलेटतर्फ गइरहेको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका बोहोरालाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन रेफर गरिएको थियो। भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत रहेका उनलाई आज (बिहीबार) बिहान २:२७ बजे चिकित्सकले मृत घोषणा गरेका छन्।
ठक्कर दिने मोटरसाइकल चालक, ४२ वर्षीय बिदुर सापकोटा, दुर्घटनापछि फरार रहेका छन्। घटनापछि इलाका प्रहरी चौकी चौघडाबाट प्रहरी नायब निरीक्षक धुर्ब बहादुर श्रेष्ठको कमाण्डमा टोली परिचालन गरिएको छ। प्रहरीले फरार चालकको खोजी कार्य जारी राखेको जनाएको छ।








