बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
नेपाल विभिन्न जातजाति तथा भाषाभाषीसम्पन्न देश भएकाले सबैको संस्कृति राज्यको निधि भएको उल्लेख गर्दै उहाँले शेर्पा समुदायको नयाँ वर्ष (बाघ वर्ष) सुरू भएको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।
प्रदेश प्रमुख देवकोटाले नेपाल भौगोलिक तथा प्राकृतिक रूपमा विविधतायुक्त मात्र नभई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण राष्ट्र भएको उल्लेख गर्दै ग्याल्पो ल्होसारजस्ता पर्व नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अंग बनेको बताउनुभएको छ।
सामाजिक सद्भाव, सहिष्णुता र आपसी भाइचारालाई मजबुत बनाउन चाडपर्वले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले चाडपर्वका माध्यमबाट कायम हुने सामाजिक एकता तथा मेलमिलापलाई दिगो र सुदृढ बनाउनु सबैको दायित्व भएको बताउनुभएको छ।
ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग बोकेर आपसी एकता, सद्भाव तथा बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रलाई थप सुदृढ बनाउन सघाउ पुर्याओस् भन्ने शुभकामना प्रदेश प्रमुख देवकोटाले व्यक्त गर्नुभएको छ।







