मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३, दोभानका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
फागुन १४ गते राति करिब ९ बजे ३५/३६ वर्षीय श्याम नेसुर आफुखुसी घरबाट निस्किएकोमा परिवारजनले खोजी गर्दै जाने क्रममा फागुन १५ गते बिहान ८:३० बजे घरदेखि करिब २ किलोमिटर पूर्व दोभानस्थित बागमती नदीको बीचमा ढुंगामा अल्झिएको अवस्थामा मृत फेला परेको सूचना प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरी मकवानपुरबाट टोली खटिएको थियो।
प्रहरी सहायक निरीक्षक रामप्रसाद यादवको कमाण्डमा घटनास्थल सुरक्षित राखिएको थियो भने थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक ललिता ढकालको कमाण्डमा अनुसन्धान टोली खटाइएको थियो।
प्रारम्भिक अनुसन्धान पूरा गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







