मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा चोरी गर्न घरभित्र पसेका एक अपरिचित व्यक्ति गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार, फागुन १५ गते राति करिब ८ बजे ६३ वर्षीय मिनबहादुर भ्लोन र उनकी श्रीमती ६४ वर्षीया देवीमाया भ्लोन घरमा खाना खाइरहेका बेला अन्दाजी ३५–४० वर्षका एक अपरिचित पुरुष घरभित्र पसेका थिए। ती व्यक्तिले घरधनीको आँखामा खुर्सानीको धुलो छर्दै चोरी गर्न खोजेका थिए।
घरधनी दम्पतीले प्रतिकार गर्दा ती व्यक्ति गम्भीर घाइते भएका छन्। टाउको, मुख र शरीरका विभिन्न भागमा चोट लागेको उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। तर, अवस्था गम्भीर भएकाले फागुन १६ गते राति १:४५ बजे उनलाई चितवनको सरकारी अस्पताल रिफर गरिएको थियो।
अस्पताल स्रोतका अनुसार, ती व्यक्तिको टाउकोको खप्पर फुटेको छ र रक्तस्राव भएर गम्भीर अवस्था रहेको छ।
यसैगरी, घरधनी मिनबहादुर भ्लोनको करङको हड्डी भाँचिएको छ भने उनकी श्रीमती देवीमाया भ्लोनको हात र आँखाको नजिक चोट लागेको छ। दुवै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







