हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भौतिक विकाससँगै मानवीय चेतना, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नाटक प्रतियोगिता हुने भएको छ।
प्रतियोगितामा स्थानीय छ वटा सामुदायिक, पाँच वटा निजी विद्यालय तथा दुई वटा बालसञ्चाल सहभागी हुनेछन्। ‘सामाजिक रूपान्तरण तथा विकासका लागि नाटक’ भन्ने मूल नाराका साथ आयोजना गरिने प्रतियोगिताबाट विद्यालय स्तरबाटै सांस्कृतिक कलाकर्मी उत्पादन र प्रवद्र्धन गर्नका साथै नाट्यकर्मीको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
शुक्रवार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष नवीन सिग्देलले समाजमा रहेका विकृति, विसङ्गति, कुरीति, अन्धविश्वास तथा लागूऔषध दुर्व्यसन हटाउन सचेतनामूलक कार्यक्रम गर्न लागिएको जानकारी दिए।
फागुन १८ देखि २३ गतेसम्म विद्यालयस्तरमा ‘चरिको कथा,’ ‘स्याडो,’ ‘शिशिर,’ ‘सत्य,’ ‘निकृष्ट’ र ‘दुर्व्यसन’ जस्ता विषयमा केन्द्रित नाटक प्रदर्शन गरिनेछ। नाटकहरू सम्बन्धित विद्यालयमा दिउँसो १ बजे मञ्चन हुने शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का संयोजक श्रीराम दाहालले जानकारी दिए।
नाटक प्रदर्शनको व्यवस्थापन झलझली मल्टीक्रियसनले गर्नेछ। प्रत्येक विद्यालयबाट १० देखि १३ जनाको समूहले कम्तीमा ३० मिनेटको नाटक मञ्चन गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलिलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने झलझली मल्टीक्रियसनका आशाकाजी श्रेष्ठले जानकारी दिए।







