मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठमा नवनिर्मित ‘कैलाश–बैकुण्ठ जीपलाइन’ को पहिलो चरणको परीक्षण सम्पन्न भएको छ।
जीपलाइनका प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशीलगायतको टोलीले परीक्षण सम्पन्न गरेका हुन्।

कैलाश गाउँपालिकाको आफ्नै बजेटमा निर्माण गरिएको यो जीपलाइन नेपालकै पहिलो स्थानीय तहकै लगानीमा बनेको जीपलाइन भएको बताइएको छ।
गाउँपालिकाका अध्यक्ष मुक्तानका अनुसार, पर्यटन र वातावरण प्रवर्द्धनका लागि स्थानीय सरकारको एकल अधिकारमा यस्ता विकासका कामहरू पर्नुपर्ने प्रस्ताव संघीय सरकारले सकारात्मक रूपमा स्वीकृत गरेपछि जीपलाइन निर्माण थालिएको हो।
कुल एक हजार दुई सय मिटर लामो जीपलाइनले कैलाश र बैकुण्ठका दुई पहाडलाई जोडेको छ। जीपलाइन सञ्चालनपछि धादिङको रोराङ, बेनीघाट, गजुरी गाउँपालिका तथा मकवानपुरका थाहानगर, राक्सिराङ, र मनहरी गाउँपालिकाका पर्यटकहरूको गन्तव्यस्थल बन्ने अपेक्षा गरिएको छ।
धादिङसँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर, र मनहरी बजारबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ।

फोरजी कम्पनीले २०७९/८० मा गरेको सर्वेक्षण अनुसार जीपलाइन निर्माणमा करिब एक करोड ९० लाख ९७ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो। बहुवर्षीय योजनाअन्तर्गत दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्टले बताए।
२०७९ माघमा ठेक्का प्रकाशित भई सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७६१ रुपैयाँमा सम्झौता भई २०८१ फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
हालसम्म जीपलाइनको ४८ प्रतिशत काम सम्पन्न भइसकेको थियो भने दोस्रो चरणको परीक्षणपछि जीपलाइन सञ्चालनमा ल्याइने प्रमुख भट्टले जानकारी दिए।
पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) को परीक्षण सम्पन्न भएको छ भने दोस्रो चरणको परीक्षण पछि जीपलाइन पूर्ण रूपमा सञ्चालनमा आउनेछ। परीक्षण कार्य जीपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले गरेका थिए।








