मनहरी गाउँपालिका-८ स्थित श्री महेन्द्र किरण माविमा प्रदेश युवा परिषद्को आर्थिक सहयोगमा आयोजित “एक दिवसीय नीति तथा नैतिकता सम्बन्धी” तालिम सम्पन्न भएको छ। आज मङ्गलबार सम्पन्न उक्त तालिमको उद्घाटन प्रदेश युवा परिषद्का कार्यालय प्रमुख रमेश घिमिरेले गर्नुभयो।

यस तालिमले स्थानीय युवाहरूलाई नीति र नैतिकताको महत्त्वबारे सचेत बनाउने उद्देश्य राखेको थियो। कार्यक्रममा युवाहरूलाई नैतिक मूल्य, आदर्श, जिम्मेवारी र समाजप्रतिको दायित्वका विषयमा विस्तृत जानकारी दिइयो।
प्रमुख अतिथि घिमिरेले युवाहरूमा नेतृत्व क्षमता, नैतिक मूल्य र अनुशासनको विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले समाजको समग्र विकासका लागि सचेत, जिम्मेवार र नैतिक युवाशक्तिको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरू र स्थानीय प्रहरीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








