हेटौंडा/एक समय ‘रिफर अस्पताल’को रूपमा चिनिएको हेटौंडा अस्पताल हाल यस क्षेत्रका बिरामीहरूको लागि भरपर्दो स्वास्थ्य संस्थामा परिणत भएको छ। दैनिक १ हजार ३०० देखि १ हजार ५०० बिरामीहरू बहिरंग सेवामा आउने गरेका छन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी सातादेखि हेटौंडा अस्पतालमा मुटु रोगसम्बन्धी सेवा विस्तारको तयारी गरेको छ। यस सेवाको सुरूवातसँगै हेटौंडाका मुटु रोगीहरूलाई अब उपचारका लागि भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ।
अस्पतालमा मुटु रोग सेवाका लागि आवश्यक उपकरणहरू पहिलेदेखि नै भए पनि विशेषज्ञ डाक्टरको अभावमा सेवा सञ्चालनमा समस्या भएको थियो। प्रतिष्ठानका रजिस्ट्रार तथा अस्पताल सञ्चालक समितिका अध्यक्ष भीमसागर गुरागाईंले आगामी आइतबारभित्र सेवा सञ्चालन गर्ने तयारीमा जुटिरहेको जानकारी दिए।
टिचिङ अस्पतालबाट मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठ अस्पतालमा हाजिर भइसकेका छन्। अस्पतालका निर्देशक डा. रामचन्द्र सापकोटाले डा. श्रेष्ठ आउँदो साता परिवारसहित हेटौंडामा बसाइँ सर्ने तयारीमा रहेको जानकारी दिए।
अब हेटौंडा अस्पतालमा मुटु रोग सेवाको विस्तार भएसँगै यस क्षेत्रका बिरामीहरूलाई गुणस्तरीय उपचार सेवा प्राप्त हुने र टाढा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको छ।







