११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ।
“सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ विश्वभर आज (मार्च ८) का दिन यो दिवस मनाइँदैछ।
प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा बागमती प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नारीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।
महिलाको हक अधिकारलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले संवैधानिक व्यवस्थाअनुसार महिलाका अधिकार राज्यका विभिन्न निकायहरूमा कार्यान्वयन भइरहेको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा महिलाहरूलाई अधिकार सम्पन्न बनाइएको र उनीहरूले स्वतन्त्रतापूर्वक आफ्नो अधिकार उपभोग गरिरहेको उहाँको भनाइ छ।
कानुनी व्यवस्था हुँदाहुँदै पनि पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि हुने हिंसा र अन्याय निन्दनीय रहेको बताउँदै उहाँले यसको अन्त्यका लागि सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
देशवासी सम्पूर्ण नारीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासका लागि समान सहभागिता र योगदान आवश्यक रहेको बताउँदै उहाँले दिवसले नारी हकहित र सशक्तीकरणमा दीगो, प्रभावकारी पहल तथा सहकार्यको लागि प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।







