अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र अनेमसंघ स्थापना दिवसको अवसरमा भूमिगत कालमा नेपाली महिला आन्दोलनमा योगदान पुर्याउने १९ जना सेल्टरदातालाई सम्मान गरेको छ।

नेकपा एमाले पार्टी कार्यालय, हेटौंडामा संघकी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा आयोजित कार्यक्रममा हेटौंडा–९ निवासी दुर्गा पौडेल, सरस्वती धिमाल, हेटौंडा–४ निवासी सुभद्रा रेग्मी, लक्ष्मी पुलामी, हेटौंडा–८ की लक्ष्मी कार्की, हेटौंडा–२ की सामुमाया श्रेष्ठ, हेटौंडा–७ की उमा थामि, पुण्यवती रिमाल, हेटौंडा–१५ की मालती थिङ लगायतलाई सम्मान गरियो।
त्यस्तै, बकैया गाउँपालिकाकी गोमा राई, लक्ष्मी घिमिरे, भीमफेदी गाउँपालिकाकी केशरी तुलाधार, थाहा नगरपालिकाकी रामपियारी नापिन, गौरी प्रधान, हेटौंडा–१८ की सत्यदेवी सुर्खेती, हेटौंडा–५ की अनुराधा विष्ट र हेटौंडा–१७ की मीना रुपाखेतीलाई पनि संघले सम्मान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि तथा अनेमसंघकी केन्द्रीय सदस्य पद्मा पौडेलले महिलालाई पुरुष समान हक अधिकार प्राप्त हुनुपर्नेमा जोड दिइन्। उनले अझै पनि कामको समान बाँडफाँड, सहभागिता र पारिश्रमिक जस्ता पक्षमा न्यायोचित व्यवहार नदेखिएको बताइन्।

संघकी अध्यक्ष सुमित्रा काफ्लेले महिला सशक्तिकरण, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलापको अन्त्यका लागि अनेमसंघ सदैव अग्रसर रहने बताइन्।
नेकपा एमाले मकवानपुर इन्चार्ज रामेश्वर रानाले महिला आन्दोलनले पाउनुपर्ने न्याय अझै नपाएको उल्लेख गर्दै समाजमा महिलाको सहभागिता बढेपनि अपेक्षित सामाजिक तथा आर्थिक परिवर्तन नदेखिएको धारणा राखे।

बागमती प्रदेश कमिटि सदस्य एकालाल श्रेष्ठले भूमिगत अवस्थामा अनेमसंघ मकवानपुरले संगठन विस्तारमा खेलेको भूमिका अतुलनीय रहेको बताए। उनले तत्कालीन समयमा महिलाहरूले आफना हकहितको लागि आवाज उठाउँदा पञ्चायती शासनद्वारा विरोध गरिएको स्मरण गर्दै हाल उनीहरू सम्मानित हुनु महिला आन्दोलनको उपलब्धि भएको बताए।







