हेटौंडा/मकवानपुरको थाहा नगरपालिकाले पालिकाभित्रको भूमिसम्बन्धी समस्याहरू समाधान गर्न पहिलो चरणको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा भएको हो।
नापी भइसकेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित भूमिहिनहरूलाई जग्गा प्रदान गर्नका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य कविन सांगामीले जानकारी दिए।
थाहा नगरपालिकाका १२ वडामध्ये २, ८, ९ र १० नम्बर वडामा जग्गा दर्ताको कुनै दाबी नभएको तर २०७१ सालमा भूमि प्राप्तिका लागि परिचयपत्र बनेको गुनासो सहभागीहरूले गरेका थिए। पटक–पटक नापी भए पनि लालपुर्जा नबाँडिँदा समस्या भइरहेको मेयर विष्टले बताए।
विगत लामो समयदेखि भूमिहिन अवस्थामा रहेका व्यक्तिहरूलाई जग्गा उपलब्ध गराउन आयोगले काम गर्ने भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलले उल्लेख गरे।

कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य डिलमाया घर्ती, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर राना, वडा अध्यक्षहरू तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







