भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोग मकवानपुरले आफ्नो अभियानलाई तीव्र बनाएको छ। बागमती गाउँपालिकाबाट सुरु भएको अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार राक्सिराङ गाउँपालिकामा सम्पन्न भएको छ।
भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बलले राक्सिराङ गाउँपालिकाका बासिन्दाको भूमि समस्या समाधानका लागि आयोगले प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनतालाई आश्वासन मात्र होइन, व्यवहारिक रूपमा समाधान दिन आयोग कटिबद्ध छ,” उनले भने, “एक पटक आयोगले प्रभावकारी रूपमा काम गरेपछि फेरि भूमि समस्या समाधान आयोग गठन गर्ने आवश्यक पर्ने छैन।”

उनले आयोगको कार्य सफल बनाउन गाउँपालिका र वडास्तरबाट सहकार्य आवश्यक रहेको बताउँदै प्रमाणिकरण भएका फाइलहरू समयमा आयोगमा पठाउन जनप्रतिनिधिहरूलाई अनुरोध गरे।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आयोगको सक्रिय भूमिकाको अपेक्षा गर्दै प्रमाणिकरण भएका फाइलहरू लामो समयदेखि अड्किएको बताए। “राक्सिराङ विकट क्षेत्र हो, यहाँका जनताको समस्या धेरै छन्। आयोगले चाँडै काम सुरु गरोस्, हामी पालिका र वडाबाट फाइल पठाउनेछौं,” अध्यक्ष मल्लले भने। साथै, छुट जग्गा दर्ताका लागि थप सूचना प्रकाशित गर्न समेत आग्रह गरे।
भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीका अनुसार राक्सिराङ गाउँपालिकामा प्रमाणित फाइलअनुसार भूमिहीन दलित ३३ जना, भूमिहीन सुकुम्बासी ३५० जना र अव्यवस्थित सुकुम्बासी १,३०१ गरी १,६८४ परिवारको पहिचान भएको छ।
कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य डिल माया घर्ती, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेंल, नापी कार्यालय मकवानपुरका प्रमुख खीम बहादुर राना, वडा अध्यक्षहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।







