बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्वलाई आपसी सद्भाव, मेलमिलाप र भाइचाराको प्रतीकको रूपमा लिनुपर्ने बताएका छन्। होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको कामना गरेका छन्।
प्रदेश प्रमुख देवकोटाले होली पर्व असत्यमाथि सत्यको विजयको प्रतीक रहेको उल्लेख गर्दै यसले खराब प्रवृत्तिको अन्त्य गर्दै सत्यता र न्यायलाई स्थापित गर्ने सन्देश दिने बताए।
उनले चाडपर्वहरू मौलिक पहिचानको निरन्तरतासँग जोडिएको उल्लेख गर्दै नेपाल सभ्यता र संस्कृतिमा धनी राष्ट्र भएको स्मरण गराए। साथै, शिष्टता, सद्भाव, मौलिकता र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरे।
प्रदेश प्रमुखले पर्वका नाममा हुने विकृतिलाई अन्त्य गर्दै सभ्य र समृद्ध समाज निर्माणमा होली पर्वले टेवा पुर्याउने विश्वास व्यक्त गर्दै सबै नेपालीलाई फागु पूर्णिमा (होली) को शुभकामना दिएका छन्।








