देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू भएको छ। यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि देशभर रहेका २,०८० परीक्षा केन्द्रमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी मात्र राखिएको छ।
विशेष केन्द्रहरूमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार)मा छन्। जापानका विद्यार्थीका लागि त्यहाँको समयअनुसार परीक्षा सञ्चालन गर्न छुट्टै प्रश्नपत्र तयार पारिएको छ।
परीक्षा सुचारु गर्न ३० हजार सुरक्षाकर्मी सहित ७७ हजार ८०० कर्मचारी परिचालन गरिएको छ। काठमाडौंबाट सबैभन्दा धेरै ३९ हजार ६०० परीक्षार्थी सहभागी छन् भने सबैभन्दा कम मनाङबाट ४३ जना परीक्षा दिइरहेका छन्।
यसपटक पहिलोपटक परीक्षाअघि नै नतिजा प्रकाशन मिति तोकिएको छ। बोर्डका अनुसार नतिजा ९० दिनभित्र, अर्थात् ७ असारमा सार्वजनिक गरिनेछ।







